हेटौंडा सडक विस्तारसम्बन्धी मुद्दाको पेसी पुस २० गतेलाई
हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रअन्तर्गत २५ मिटर सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन आइतबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासमा आइतबारका लागि तोकिएको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको हो ।
यसअघि पुस २ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनीलकुमार पोखरेलको इजलासमा उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने पुस ६ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तारसँग सम्बन्धित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले दायर गरेको रिट निवेदनमाथि आइतबारका लागि पेसी तोकिएको थियो । सर्वोच्च अदालतले अब उक्त मुद्दाको पेसी पुस २० गतेका लागि निर्धारण गरेको छ ।
डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरलगायत निकायले सडक विस्तारको प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार संरक्षण र उचित मुआब्जाको माग गर्दै निवेदकहरू मंसिर १६ गते सर्वोच्च अदालत पुगेका थिए । सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
























