ज्योतिष परिषद्को स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री सहयोग
हेटौंडा । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित संस्कृत वेद विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ ।
बिहीबार एक औपचारिक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरिएको हो । नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य गणेश धिताल प्रमुख अतिथि रहनुभएको थियो । यस्तै, विशिष्ट अतिथिका रूपमा परिषद्का केन्द्रीय सदस्य होमनाथ न्यौपाने तथा संस्कृत वेद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का पदाधिकारी, सदस्यहरू, विद्यालयका शिक्षक कर्मचारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा नेपाल ज्योतिष परिषद् मकवानपुरको तर्फबाट विद्यालयलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। परिषद्ले ९ दर्जन कापी तथा ३२ प्याकेट कलम प्रदान गरेको परिषद्का सचिव जिवराज बख्रेलले जानकारी दिनुभयो । परिषद्ले आगामी दिनहरूमा पनि सामाजिक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले प्राप्त सहयोगले विद्यालयको शिक्षण गतिविधि अघि बढाउन थप मद्दत पुगेको बताउँदै परिषद्प्रति आभार व्यक्त गर्नुभयो। यस्तो सहयोगले आगामी दिनमा विद्यालयका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिन प्रेरणा मिल्ने उहाँको भनाइ थियो।
सभाध्यक्ष ध्रुवप्रसाद सापकोटाले नेपाल ज्योतिष परिषद् सेवामुखी संस्था भएकाले आगामी दिनहरूमा पनि शिक्षा, संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
























