गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो । शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । पौडेल १४ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । घिमिरे विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेता हुन् । घिमिरे नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए ।
सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।
सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीमा शेरबहादुर देउवाको अध्याय टुंगिएको उद्घोष गरे । उनले कांग्रेस गुटबाट मुक्त भएको बताए । ‘कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहने नयाँ परम्परा सुरु भएको छ,’ उनले भने ।
























