मकवानपुर क्योकुशिन कराते संघ बालकुमारीले जित्यो दुई स्वर्ण पदक
हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO UNION) ले २७औँ राष्ट्रिय माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते प्रतियोगिता-२०८२ मा दुई स्वर्ण पदक हात पार्न सफल भएको छ।
पोखराको ढुङ्गेसाँघुमा सम्पन्न सुबेदार मेजर धनबहादुर गुरुङ स्मृति कप तथा चौथो राष्ट्रिय IKOS सोनोदा ग्रुप च्याम्पियनसिपअन्तर्गत आयोजित उक्त प्रतियोगितामा मकवानपुरका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगितामा पुरुष ५० केजी तौल समूहमा समीर बी.के. र महिला ५० केजी तौल समूहमा साधना लोप्चनले स्वर्ण पदक जित्न सफल भएको प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाबाट चार जना खेलाडी सहभागी भएको उक्त राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक हासिल गर्नु संघका लागि गर्वको विषय भएको मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियनका अध्यक्ष बुद्धिनाथ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र प्रशिक्षकहरूको मार्गदर्शनकै कारण यस्तो सफलता हासिल भएको हो ।
संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै कराते खेलको विकास र खेलाडी उत्पादनमा निरन्तर योगदान पुर्याउदै आएको छ ।























