मकवानपुरमा माघ २५ देखि एचपीभी खोप अभियान

हेटौंडा । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एचपीभी खोप अभियान सुरु गरिने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरी खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई खोप प्रदान गरिनेछ । अभियान विद्यालय केन्द्रीत रूपमा आगामी फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

विद्यालयमा अध्ययन नगरेका वा अभियानका क्रममा छुटेका किशोरीलाई भने फागुन २२ गतेसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान पहिलो र दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिनेछ ।

स्वास्थ्यकर्मीहरूका अनुसार एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*