गगन थापाको घोषणा : पाँच वर्ष विकास र परिवर्तनको नेतृत्व गर्छ नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ मा जस्तो अब देशमा युवा मारिनु नपर्ने र भदौ २४ गतेजस्तो सिंहदरबार जल्नु नपर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताएका छन् । देशमा देखिएका समस्याको समाधान निकाल्दै कांग्रेसले भोलिको उज्यालो नेपालका लागि स्पष्ट खाका तयार पारिसकेको उनले दाबी गरे ।
जनकपुरस्थित तिरहुतिया गाछीमा बुधबार आयोजना गरिएको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ र २४ गतेको घटनाले कांग्रेसलाई इन्कार नगरेको, बरु बदलिएर आउन सन्देश दिएको उल्लेख गरे । “भदौ २३ र २४ गतेको विद्रोहले हामीलाई अस्वीकार गरेको होइन, बदलिएर आऊ भनेको हो । कांग्रेस बदलिएर आएको छ,” उनले भने ।
उनले अब “ठूलालाई चैन र सानालाई ऐन” भन्ने अवस्था अन्त्य भएको जिकिर गर्दै किसानले मल लिन लाइन बस्न नपर्ने र लाइसेन्स लिन घुस दिनु नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । “किसानलाई खाद ९मल० का लागि सास्ती हुँदैन, सेवाग्राहीले घुस दिनुपर्दैन, त्यो हाम्रो प्रतिज्ञा हो,” उनले भने ।
मधेश प्रदेशका आठवटै जिल्लाका ३२ निर्वाचन क्षेत्रका उम्मेदवारसमेत सहभागी उक्त सभामा सभापति थापाले विगतमा भएका कमजोरी सच्याउन कांग्रेस तयार रहेको बताए । “अब प्रश्न गर्दा कुनै युवा भदौ २३ जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन,” उनले भने, “कसैले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउँदैन, यही नै कांग्रेसको प्रतिज्ञा हो ।”
उनले सडकमा उत्रिएका युवा पुस्ताको भावनालाई सम्बोधन गरिने स्पष्ट पार्दै उनीहरू बाहिरबाट आएका नभई आफ्नै घरपरिवारका सदस्य भएको बताए । “जेन–जी भनेर कतैबाट आएको होइन, ती हाम्रै भाइ–भतिजा हुन् । हामीलाई इन्कार गरेको होइन, हाम्रो शैली बदल भनेका हुन्,” उनले उल्लेख गरे ।
सभापति थापाले आगामी पाँच वर्ष खेर नफाल्ने प्रतिबद्धता जनाउँदै सबै राजनीतिक दल र पक्षलाई समेटेर विकास र परिवर्तनको नेतृत्व गर्ने दाबी गरे । “कांग्रेसले अब पाँच वर्षको समय खेर फाल्दैन । हिजोको गौरव गर्छौं, तर हिजोमै अड्किँदैनौं । आजको समस्या समाधान गर्छौं र भोलिको उज्यालो दिनको नेतृत्व गर्छौं,” उनले भने ।
उनले कांग्रेसको शक्ति घृणा नभई प्रेम र निषेध नभई समावेशी सहभागिता रहेको उल्लेख गरे । “कांग्रेसको शक्ति सबैलाई सहभागी गराउने शक्ति हो,” उनले जोड दिए ।
























