मातृभाषामा समेत मतदाता शिक्षा प्रदान गरिँदै

हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बदर मत घटाउने तथा मतदातालाई मतदान प्रक्रियाबारे सुसूचित गराउने उद्देश्यले मकवानपुरका १०२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक वडामा स्वयंसेवक परिचालन गरी घरदैलोमार्फत नमूना मतपत्र प्रयोग गरेर मतदाता शिक्षा प्रदान गरिँदै आएको छ। स्वयंसेवकले नेपाली भाषासँगै स्थानीय मातृभाषामा समेत शिक्षा दिइरहेका छन् ।

चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेका क्षेत्रमा क्रमशः चेपाङ र थाहा तामाङ भाषामा मतदाता शिक्षा प्रदान गरिएको छ। मकवानपुर-२ अन्तर्गत पर्ने राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश वडामा स्वयंसेवकले नेपालीसँगै चेपाङ भाषामा शिक्षा दिइरहेका छन् । त्यसैगरी थाहा नगरपालिकामा तामाङ भाषामा मतदाता शिक्षा सञ्चालन भइरहेको छ ।

कार्यक्रमको प्रभावकारी अनुगमनका लागि जिल्लाका १० वटै स्थानीय तहमा तालिमप्राप्त अनुगमनकर्ता खटाइएको जनाइएको छ । स्वयंसेवकले मतदाताको घरबस्ती तथा समुदायस्तरमै पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने सही तरिका, मतपत्रमा छाप लगाउने, पट्याउने तथा मतपेटिकामा खसाल्ने प्रक्रियासम्म सिकाइरहेका छन् ।

मतदान प्रक्रियालाई सहज, सरल र व्यवस्थित बनाउँदै बदर मत न्यून गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो। उहाँका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले पनि घरदैलो अभियानका क्रममा मतदान गर्ने तरिका सिकाए बदर मत थप घट्न सक्ने उहाँको भनाइ छ ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुर–१ मा एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने मकवानपुर-२ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । जिल्लाको कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ पुगेको छ। तीमध्ये महिला मतदाता एक लाख ५३ हजार ३७६ तथा अन्य मतदाता पाँच जना रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*