मकवानपुरका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गर्दै गृहमन्त्री अर्याल
हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
शनिबार गृहमन्त्री अर्यालले मकवानपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत निरीक्षण र अनुगमन गर्नुभएको हो । यस क्रममा उहाँले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको र आम नागरिकको सक्रियता यसका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत र मिथ्या सूचना तथा दुष्प्रचारबाट सचेत रहन सबै पक्षलाई आग्रह गर्दै निर्वाचन क्षेत्रमा सक्रिय तयारी गर्नुपर्ने कुरा पनि जोड्नुभयो ।
गृहमन्त्रीसँगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापा लगायतका उच्च पदाधिकारी पनि सहभागी भएका थिए ।
मन्त्री अर्यालको टोलीले दक्षिणकाली नगरपालिका–९, फर्पिङ स्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण पनि गरेको छ।
यसैबीच, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ स्थित अर्को मतदान केन्द्रको अनुगमन गर्नुभएको थियो। सो क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जनपथ प्रमुख, ससस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान प्रमुखका साथै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा छलफल गरिएको थियो।
मन्त्री अर्यालले इन्द्रसरोवरको चौकी निरीक्षण गरी जिल्ला सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो । मकवानपुर जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दै मतदान केन्द्रहरूको सुरक्षा व्यवस्थापन र परिचालनका सम्बन्धमा आवश्यक निर्देशन पनि दिएका थिए ।
























