निर्वाचनका लागि मतपत्रसहित सामग्री हेटौंडा आइपुग्यो
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र तथा निर्वाचन सामग्री हेटौंडा आइपुगेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा तयारी तीव्र पारिएको छ भने समग्र व्यवस्थापन अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सामग्री सुरक्षित रूपमा जिल्लामा भित्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार मतपत्र, मतदान पेटिका, छाप, मसी, फारामलगायत सामग्री प्राप्त भइसकेको र ती सामग्रीलाई व्यवस्थित रूपमा सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ ।
फागुन १८ गतेदेखि मतदान अधिकृत तथा सहायक अधिकृतहरू आ–आफ्नो मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ । सोही दिनदेखि मतदाता नामावली प्रकाशन, आवश्यक सूचना टाँस तथा मतदान स्थलको अन्तिम तयारी गरिने प्रशासनले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ । मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा तथा संवेदनशीलताको मूल्याङ्कन सम्पन्न भइसकेको बताइएको छ ।
प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच निरन्तर समन्वय भइरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी अधिकारीले मतदान केन्द्रमा आवश्यक पूर्वाधार, कर्मचारी तथा सुरक्षा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
मतदान केन्द्रमा खटिने कर्मचारीहरूको तालिम सम्पन्न हुने क्रममा रहेको र आवश्यक सामग्रीसहित केन्द्रमा पठाइने तयारी भइरहेको छ । निर्वाचन अवधिभर शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिने जनाउँदै प्रशासनले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।






















