आज पहाडी जिल्लामा होली
काठमाडौं । आज काठमाडौं उपत्यकासहित नेपालका पहाडी जिल्लाहरूमा रंगहरूको पर्व होली धूमधामसँग मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाको अवसरमा मनाइने होली पर्वमा सरकारद्वारा सार्वजनिक बिदा दिइएको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन पहाडी र हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लामा होली पर्व मनाइन्छ । यो पर्व एकताको प्रतीक र सुख(शान्तिका लागि मनाइन्छ ।
होली पर्वको मुख्य उद्देश्य असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको उत्सव मनाउनु हो । यस अवसरमा सम्पूर्ण रिस र गुस्सा त्यागेर प्रेम र सद्भावनासँग परिवारजन र साथीहरूसँग रङ र अबिरले रमाइलो गर्ने परम्परा छ । होली पर्वलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रूपमा मनाउने परम्परा नेपालमा छ ।
यसै बीच, होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिएका छन् र सबैलाई मर्यादित र सुरक्षित ढंगले होली मनाउन आग्रह गरेका छन्।
प्रहरी प्रशासनले होलीको नाममा उग्र र अशिष्ट गतिविधिहरू नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । उल्लंघन गर्ने व्यक्तिहरूसँग कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
























