ग्यासमा कालोबजारी, ग्यासको अभाव नरहेको निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले मुलुकमा खाना पकाउने ग्यास एलपीजी को पर्याप्त आपूर्ति भइरहेको जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अभाव बजारमा माग अनुसार आपूर्ति भइरहेको र कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने बिक्रेतामाथि कडा निगरानी राख्न सुरु गरेको बताए ।

बजारमा केही बिक्रेताले ग्यासको अभाव देखाउँदै महँगो मूल्य असुल्ने गरेको गुनासो बढेपछि बढी मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने अधिकार वाणिज्य विभागसँग रहेको र त्यसका लागि जानकारी गराइएको बताए ।

प्रवक्ता ठाकुरका अनुसार फागुन महिनाको २५ गतेसम्म मात्रै करिब ४३ हजार ५ सय मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ । ‘दैनिक १ हजार ५ सयदेखि २ हजार मेट्रिक टन ग्यास नियमित रूपमा आइरहेको छ, जुन हाम्रो माग धान्न पर्याप्त छ,’ उनले भने, ‘भारतबाट हुने आपूर्तिमा कुनै समस्या छैन र उपभोक्ताहरू आतङ्कित हुनुपर्ने अवस्था छैन ।’

ठाकुरका अनुसार ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन निगमले मंगलबार उद्योगी र बिक्रेताहरूलाई बोलाएर निर्देशन दिइएको छ । यसअनुसार अबदेखि ग्यास उद्योगीले कुन बिक्रेता डिलरलाई कति ग्यास पठाएको हो, त्यसको स्पष्ट रेकर्ड राख्नुपर्नेछ । त्यस्तै, बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रवक्ता ठाकुरले बिक्रेताले उद्योगबाट ग्यास प्राप्त गर्ने तर उपभोक्तालाई छैन भन्दै लुकाउने गरेको गुनासो आएकाले रेकर्ड राख्ने प्रणालीमा कडाइ गरिएको बताए ।

निगमले हालको अवस्थामा होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । ग्यासको मौज्दात स्टक नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*