सगरमाथाको शिखरमा पुग्यो उचाई नाप्नका लागि खटिएको टोली
८ जेठ, हेटौंडा । सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको छ ।
विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली आज बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाईम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ । टोली शिखरबाट फर्केर साउथकोल आइसकेको छ । सो टोली भोलिसम्म आधार शिविर आईपुग्ने आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोसन प्रालिले जनाएको छ ।
शिखरमा जीपीएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण बिन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ । टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधार शिविरमा बसेर सहयोग गरिरहेका छन् ।
























