बाग्मती गाउँपालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि
हेटौंडा, १० जेठ । मकवानपुरको बाग्मती गाउँपालिकामा निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा आईपास नेपालको सहयोगमा बिहीबार बाग्मती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राई गाउँ स्वास्थ्य चौकी १,२,३’ मा गरिएको सर्वेक्षण अनुसार सुरक्षित गर्भतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको तथ्यांक पाइएको हो ।
उक्त स्वास्थ्य चौकीमा गत वर्षको श्रावणदेखि यस वर्षको बैशाखसम्मको तथ्यांक अनुसार ४४ जना महिलाले सुरिक्षत गर्भतन गरेका छन् । जसमा ३ जना २० वर्षभन्दा कम उमेरका र ४१ जना २० वर्षभन्दा माथिका उमेरका महिलाहरु रहेको स्वास्थ्यचौकीका ईञ्चार्ज फुलेश्वर पाण्डेले जानकारी दिए । राई गाउँ स्वास्थ्य चौकी सुरक्षित गर्भतन सेवाको ईजाजत प्राप्त सुचिकृत मकवानपुरका १५ स्वास्थ्य संस्थाहरु मध्येको एक हो ।
सर्वेक्षणमा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंह, ओचिन मकवानपुरका कार्यकारी अधिकृत उद्धव बानियाँ, ओचिनका कार्यक्रम संयोजक ईन्दिरा बास्तोलाका साथै मकवानपुरका विभिन्न सञ्चार संस्थाहरुमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । ओचिन मकवानपुरले आईपासको सहयोगमा कार्यक्रम गर्दै आएको छ । मकवानपुरमा हेटौँडा अस्पताल, सिस्नेरी स्वास्थ्य चौकी, आग्रा स्वास्थ्य चौकी, बज्रबाराही स्वास्थ्य चौकी, पदमपोखरी स्वास्थ्य चौकी, सरिखेत स्वास्थ्य चौकी, भैँसे स्वास्थ्य चौकी, राईगाउँ स्वास्थ्य चौकी, हाँडीखोला स्वास्थ्य चौकी, भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, छतिवन प्राथमिक स्वास्थ्य केन्द्र, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, हात्तिसुँडे प्राथमिक स्वास्थ्य ईकाई र मातृशिशु स्वास्थ्य केन्द्र हेटौँडा गरी १५ वटा निःशुल्क सुरक्षित गर्भतन सेवा उपलब्ध गराउने स्थानहरु रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार सन् २०१८ मा मकवानपुरमा ९ सय ३८ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । तर, २०१७ मा भने सुरक्षित गर्भपतन गराउनेको संख्या २ सय ८७ मा मात्रै सिमित रहेको थियो ।
























