हिरा लुट्ने तीन प्रहरी र एक पत्रकार मकवानपुरमा पक्राउ

हेटौंडा । मकवानपुरको कैलास गाउँपालिकमा हिरा लुटेर फर्कदै गरेका चारजनालाई थाहा नगरपालिकाको प्रहरीले चेकिङका क्रममा पक्राउ गरेको छ । प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।

कैलाशमा हिरा लुटेर काठमाण्डौ फर्कन लाग्दा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय २ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका १ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।

मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आईतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटपाट लुटिएको खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश ३-०१-०१-००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरू चोरी तथा डाकामुद्धा अन्तरगत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*