काठमाडौँमा मृत्युपश्चात एक जनामा कोरोना पुष्टि
काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केएमसीमा यही असार २५ गते बिहीबार गोकर्णका एक ५४ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । उनमा मरणोपरान्त कोरोना संक्रमण पुष्टि भएको हो । उनको पीसीआर परीक्षण रिपोर्ट शुक्रबार साँझ पोजेटिभ आएको अस्पतालका निर्देशक डा। मुकुन्द राज जोशीले जानकारी दिए ।
डा जोशीका अनुसार मृतक लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनको स्वास्थ्यमा समस्या आएपछि असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा त्यहाँ आइसीयू बेड नपाएपछि केएमसीमा भर्ना गरिएको थियो । २१ गते नै उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट नआउँदै २५ गते मृत्यु भयो ।
रिपोर्ट पोजेटि देखिएपछि नेपाली सेनाको टोलीले शनिबार बिहान उनको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तर स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।


























