बागमती प्रदेशका ४९ वटा खोप केन्द्रहरुबाट कोरोना खोप सेवा
माघ २३, हेटौंडा ।बागमती प्रदेशका ४९ वटा खोप केन्द्रहरुबाट कोरोना खोप सेवा दिएको छ ।
प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोना खोप ७३ दशमलव ६५ प्रतिशत अर्थात ५५ हजार ८ सय ७८ जनाले लगाइसकेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जानकारी दिएको छ । शुक्रबार हेटौंडामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा ४९ वटा खोप केन्द्रहरुबाट कोरोना खोप सेवा दिएको जनाइएको हो । खोप सुचारु भएको नवौं दिनसम्म आइपुग्दा खोप लगाएका २ जनालाई गम्भिर स्वास्थ्य समस्या देखिएको छ । तर, उपचार पश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको छ ।
३ सय ३४ जनामा भने खोपले सामान्य असर देखाएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएका हुन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिक लगायतले हालसम्म खोप सेवा लिएका छन् ।
कार्यक्रममा निर्देशनालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका कामहरुको सम्बन्धमा पनि जानकारी गराइएको थियो । नागरिकको आकर्षण वैकल्पीक चिकित्सा तथा आयुर्वेदमा बढ्दै गएकाले सबै स्थानिय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना गरिएको छ ।
कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीले गाउ घर क्लिनिकले गाउ स्तरबाट स्वास्थ्य सेवा प्रदान भैरहेकाले दुर्गम क्षेत्रसँग दुरी कम गरिरहेको बताउनुभयो । गाउस्तरमा महिला समुहमार्फत महिना १ पटक स्वास्थ्य सम्बन्धी छलफल गरेर पनि जनचेतना बढाउने काम भैरहेको उहाले बताउनुभयो ।
उहाँले मन्त्रालयमार्फत मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम संचालन भैरहेकाले स्वस्थ हुन स्वस्थ व्यवहार लागु गर्नेपर्ने बताउनुभयो । कार्यक्रममा निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, निर्देशनालयका सूचना अधिकारी बसन्त चालिसे लगायतकाको आतिथ्यता रहेको थियो ।























