बीर अस्पतालका लागि आर्थिक अभाव नहुने –अर्थ मन्त्री पौडेल

माघ २७,भक्तपुर । अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा बिस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताएका हुन् । उनले वीर सम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताएका छन् । आगामी ६ महिना भित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराउने समेत उनले बताए । उनले सडक डिभिजन, विद्युत प्राधिकरण,खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित न्याम्स तथा वीरका पधाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि ६ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए ।

अर्थ मन्त्री सँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले वीर अस्पताल जस्तो ठुलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु दिलो ज्यान भएर लागेको बताए । उनले दुवाकोट बासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गरेका छन् । विस्तारित वीर अस्पतालको कामले छिटो भन्दा छिटो थालनी पाउने उनले बताए। चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ ।

मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्ने छन् । जसका लागि सरकारले चिनिया कम्पनी सँग सम्झौता गरि सकेको भएपनि चिनिया कम्पनीले भने ढल पानी विद्युत बाटो लगाएत कुनै पनि भौतिक पूर्वाधार विना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्ष देखि काम यतिकै थाँती रहेको थियो । स्थलगत अवलोकनमा अर्थ मन्त्री , स्वास्थ्य मन्त्री , स्वास्थ्य राज्य मन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिब, न्याम्सका उपकुलपती ,चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकाय पदाधिकारीहरु पुगेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*